
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १ सय ३७ जनाको जयान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत थप ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका थप ११ जनाको ज्यान गएको छ ।
प्रवक्ता गौतमले दिएको जानकारीअनुसार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जनाको कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी संक्रमितको संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबारसम्म संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
उपत्यकाका काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २५० जनाले कोरोना जितेर घर फर्किएका छन् । निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
सशस्त्रका प्रवक्ता राजु अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए ।