
काठमाडौँ । सरकारले निजी अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ । बिहीबार साँझ सम्पन्न बैठकले कोरोना संक्रमण बढ्दै गएकोले सरकारी अस्पतालमा मात्रै उपचार सम्भव नभएको ठहर गर्दै सो निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारले अलिहेसम्म सरकारी अस्पतालमा गरिएको उपचार खर्च मात्रै भुक्तानी गर्दै आएको थियो । सरकारले निजी अस्पतालको लागि कोरोना उपचार खर्च महंगो तोकेको भन्दै चौतर्फी विरोध भइरहेको थियो । सरकारले यसअघि सामान्यदेखि गम्भीर अवस्थामा रहेको बिरामीको लागि ३५ सयदेखि १५ हजारसम्म उपचार खर्च तोकेको थियो ।
सरकारको यो निर्णयले कोरोना उपचार सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको थियो । निर्णयको चर्को विरोध भएपछि सरकारले उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
त्यसैगरी विदेशमा अलपत्र परेका नेपालीको उद्दार कार्य पुनः सुचारु गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि सिसिएमसीको निर्णयअनुसार उद्धार तथा चार्टर रोकिएको थियो । त्यस्तै विदेशबाट फर्किने व्यक्तिहरुले काठमाडौँमा आइसोलेसनका रुपमा होटलमा बस्नुपर्ने र त्यहाँ लाग्ने खर्च स्वयमले व्यहोर्नुपर्ने निर्णय पनि गरेको छ । त्यस्तै, भारतबाट फर्किनेहरुले एक हप्तासम्म सीमामा बस्ने पर्ने पनि सरकारले निर्णय गरेको छ ।
विहीबार मात्रै थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको जोखिममा रहेको काठमाडौं उपत्यकामा विहीबार थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीबार साँझसम्म थप चार जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १३० पुगेको छ ।