
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण १ सय २६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप ६ जनाको ज्यान गएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको ज्यान गएको हो ।
सप्तरीका एक युवकको कोरोनाका कारण ज्यान गएको विहीबार पुष्टि भएको हो । धरानमा मंगलबार निधन भएका सप्तरी राजविराज नगरपालिका– ४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।
त्यसैगरी बारामा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । बुधबार राति ११ बजेतिर श्वास प्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल पुर्याइएको थियो । तर अस्पतालमा उपचार सुरु नहुँदै निधन भएको थियो । कोरोना परीक्षण विहीबार संक्रमण भएको रिपोर्ट आएको नारायणी अस्पतालले जनाएको छ ।
उपत्यकामा फेरि एकजनाको ज्यान गएको छ । काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि भएको छ । उनको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।
त्यसैगरी चितवनको रत्ननगर नगरपालिका–१३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको थियो । उनलाई ६ दिनसम्म आइसीयूमा राखेर उपचार गरिएपनि निको हुन सकेन । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।
त्यसैगरी विहीबार उपत्यकामा सबैभन्दा धेरै २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । त्यस्तै, कोरोना जित्नेको संख्या १७ हजार ९६४ पुगेको छ । गएको २४ घण्टामा थप २६४ जना संक्रमित कोरोना जितेर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १७४ जना, ललितपुरमा १८ जना र भक्तपुर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारीअनुसार सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६/१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।