
काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि आजबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म निषेधाज्ञ जारी गरेका हुन् ।
कोरोना समुदायमा पुगेपछि स्थानीय प्रशासनले बुधबार मध्यरातबाट भदौ १० गते मध्यरातसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । एक हप्तासम्म अब अत्यावश्यकीय कामबाहेक हिडडुल गर्न समेत पाइने छैन ।
दुई दिन पहिलो तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिमा एम्बुलेन्स÷शव वाहन÷दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृ.त्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन गर्न पाइने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, विवाहमा ७ जना मात्र जन्ती जान पाउने छन् ।
त्यसैगरी खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन हुनेछन् । त्यस्तै, बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापनसँग सम्बन्धित सेवा पनि संचालन गर्न पाइने काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ ।
त्यस्तै कोरोनाको क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाए संचालन गर्न दिइने काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ ।
निषेधाज्ञा जारी भएसँगै विहीबार विहानैबाट काठमाडौँका सडक सुनसान भएका छन् । विहान मानिसहरु मोर्निङमा पनि निकै कम निस्केका छन् । काम विना सडकमा निसक्का केही व्यक्तिहरुलाई प्रहरीले फिर्ता पठाएको छ ।
बुधबार मात्रै उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशैभर थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।