
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट १ सय १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ७ जनाको ज्यान गएको थियो ।
नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँके १–१ सहित मंगलार ७ जनाको निधन भएको हो । नवलपरासीका एक जना पुरुषको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको थियो । नेपाली काँग्रेसका नेता समेत रहेका ३७ वर्षीय पुरुषको निधन भएको अस्तालले जनाएको छ । उनलाई साउन ३० गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै निधन भएको छ । यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत निधन भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान निधन भएको हो । ज्वरो तथा श्वासप्रश्वासको समस्या भएपछि उनलाई साउन २२ गते भर्ना भएका थिए ।
यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा गएराति राति निधन भएको थियो । मृतक महिलामा सुगर, मुटुको समस्या थियो ।
बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको पनि निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
यसैगरी मंगलबार नेपालमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २०५ सहित १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।