
चितवन । भरतपुर अस्पतालका प्रमुखसहित चार जना चिकित्सक कोरोना संक्रमित भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार डाक्टर र स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तै, आकस्मिक कक्षमा कार्यरत एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले संचारकर्मीलाई जानकारी दिएका छन् । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार प्रसुति विभागका प्रमुखलाई नै कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिन थालिएको अस्पतालले जनाएको छ । तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको भएपनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने अस्पतालले जनाएको छ । जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अध्यक्ष अधिकारीले बताएका छन् । उनका अनुसार संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सामान्य रहेको छ ।
यसअघि जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि भरतपुरमा शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति मात्र गरिएको परीक्षणमा चितवनकै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।