
काठमाडौं । कोरोना महामारीले शैक्षिक कार्यक्रम बिथोल्दा पनि सरकार टुलुटुल हेरिरहेको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । उनीहरुले शैक्षिक कार्यक्रम बिथोलिँदा पनि सरकारले नयाँ विकल्पबारे नसोच्नु दुःखको कुरा भएको समेत बताए ।
शनिबार संवाद डबलीले राजधानीमा गरेको ‘कोरोनाको कहरबीचमा शिक्षाको अबको बाटो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै शिक्षाविद डा. विद्यानाथ कोइरालाले कोरोना महामारीको कारण नेपालमा पनि ३–४ महिनाको शैक्षिक कार्यक्रमहरु विथोलीसक्दा पनि शिक्षा क्षेत्रमा कार्य गर्ने निकायहरु यस बिषयमा मौन रहेर गैह्रजिम्मेवार बनेको बताए । विद्यार्थी मारमा परेको र कयौंले आत्महत्या गर्न थालिसक्दा पनि सम्बन्धित निकायहरु त्यस बिषयमा चासो दिएर नयाँ विकल्पबारे नसोच्नु दुःखको कुरा भएको बताउँदै डा. कोइरालाले भने, “कोरोनाकै कारणले विद्यार्थीको शैक्षिक शत्र खेर जानु भएन बरु त्यसबारे छिट्टै सरकारले नयाँ रणनीति तयार गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै डा.कोइरालाले शिक्षकले सहजै पढाउन सक्ने र विद्यार्थीले ग्रहण गर्न सक्नेगरी छोटो समयको लागि संश्लेषित पाठ्यक्रम बनाउन सकिन बताए । उनले एक सेमेस्टर एक बर्षको कोर्षलाई २ महिनामा गर्न सकिने प्रणाली अमेरिका, अस्ट्रेलियालगायायतका देशहरुले अपनाएको दृष्टान्तसमेत बताए । जुन कुरा नेपालमा पनि कतिपय ठाउँहरुमा अवलम्बन गरिसकेको र यस्तो पाठ्यक्रम बनाउन सरकारले शिक्षकलाई दिँदा प्रभावकारी बन्ने बताउँदै “शिक्षकहरु आवश्यक पाठ्यक्रम बनाउन सक्षम छन्, जस्तै बुटवल, नेपालगन्ज र मोरङतिरको केहि विद्यालयहरुले यो लागू पनि गरिरहेको छन् भने सबै विद्यालयले किन गर्न नसक्ने ?” कोइरालाले प्रश्न गरे ।
त्यसैगरी केही विद्यार्थी संगठन तथा समाजबाट अनलाइन तथा डिजीटल शिक्षा प्रणालीले विद्यार्थीहरुमा ठूलो विभेद ल्याउने भन्ने कुरा निकै गलत भएको पनि उनको ठहर छ । उनले इन्टरनेट नभएको ठाउँमा रेडियो टेलिभिजन र त्यो पनि नभएको ठाउँमा अफलाईन विधिबाटसमेत पढाएर भएपनि शैक्षिक शत्र अगाडि बढाउन पर्ने डा. कोइरालाले बताए ।
विगतमा जनवादी शिक्षाको रटान लगाउनेहरु आज त्यसैको उल्टो गएर निजी तथा आवासिय शिक्षाका संरक्षक भएको आरोप लगाउँदै डा. कोइरालले भने,“विगतमा खुब व्यापारी तथा निजीकरणको शिक्षा माफियाकरण भयो भनेर गीत गाउँथे उनिहरुले नै २०७५ मा नितीगतरुपमै निजी शिक्षाले समाजमा ठूलो योगदान दिएको छ भन्दै संरक्षण गरेका छन्, वा तिमीहरुको क्रान्तिकारीता ।”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका संयोजक ऐन महरले कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्रलाई पनि तहसनहस पारेकोले विगतको तरिकाले चल्न पनि नसकिने र नयाँ पनि नभेटिएकोले अन्यौलता आएको बताए । “भौतिक दूरी कायम गरेर कक्षा सञ्चालनको वातावरण पनि छैन, अनलाईन तथा डिजीटल कक्षाबाट पढाई गरौं भने पनि पारा देखि हालियो, हाम्रो जस्तो अल्पविकसित देशमा यो त्यति प्रभावकारी हुने भएन” महरले भने । उनले नेपालमा वर्षेनी १४ लाख नयाँ विद्यार्थी स्कूल भर्ना हुने र एसईईसम्म पुग्दा मुस्किलले ४ लाख पुग्ने अनि बीचको ठूलो जमात कहाँ हराउँछ भन्ने कुराले पिरोल्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै महरले कोरोनाको यस महामारीको बीचमा निजी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको र सामुदायी विद्यालयमा भने पढाई हुन आधार नभएकोप्रति चिन्ता ब्यक्त गर्दै भने,“धनाढ्य तथा पहुँचवालाका १७ लाख छोराछारीले अनलाइन तथा डिजीटलमा पढ्ने तर ६० लाख गरिब तथा दुरदराज जहाँ यस्तो शिक्षाको सम्भावना नै छैन उनिहरुलाई ठाडो अन्याय हुन्छ ।”
त्यसैगरी अखिल क्रान्तिकारी अध्यक्ष आलोक रायमाझीले कोभिड –१९ बाट शिक्षा क्षेत्र अत्यन्तै प्रभावित भएको र अब पनि बेलैमा सरकारले यसबारे उल्लेखनिय रुपले चाँसो नदेखाए तहसनहसकै अवस्थामा जाने बताए । नेकपा (माओवादी केन्द्र)का निकट अखिल क्रान्तिकारीका अध्यक्ष रायमाभफीले नेपालमा विगतदेखिको सामुदायीक र निजी गरेर दुई खाले शिक्षा प्रणाली भएको र त्यो अन्याय र विभेदकारी भएकोले त्यस विरुद्ध आवाज उठाउँदै आएपनि सुनुवाई नै नभएकोप्रति आक्रोस् व्यक्त गर्दै भने,“अझै शिक्षा निशुल्क र समान दिनुपर्छ भन्यो तर व्यवहारिक रुपमा लागू गरेको छैन, कोरोनाको बेलामा पनि अनलाईन तथा डिजीटल माध्यमबाट पढाउने कुराले झण्डै ८० प्रतिशत विद्यार्थी त्यसबाट बञ्चित हुँदैछन्, ।”
शिक्षा क्षेत्रलाई व्यापारी तथा निजीकरण गर्नमा नै सत्तासीनहरुको हात रहेको आरोप लगाउँदै रायमाझीले भने, “नेपालमा ८६ प्रतिशत विद्यालयहरु सत्ताधारी (नेकपा)को छन् भने बाँकी प्रतिपक्ष दलको विद्यालय गरी ९९ प्रतिशत विद्यालयहरु उनिहरुकै छन् । त्यसैले उनिहरु वर्गिय खाडल रहेका शिक्षा परिवर्तन गर्न चाहँदैनन् ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकी (सुशिल) सरकारले ८० लाख विद्यार्थीहरुको भविश्यलाई डामाडोल पारेको आरोप बताए । उनले वर्तमान सरकार भ्रष्टाचार तथा सत्ता जोगाउने खेलमा मात्रै केन्द्रीत भएको बताउँदै अगाडि भने, “अहिलेको वर्तमान सरकारले कोभिड १९ ले सिर्जित शैक्षिक समस्या समाधानबारे कोभिड सकिएपछि सोचौंला भन्नु गलत हो । तर कोभिडमा पनि समय सुहाउँदो शिक्षा हुनुपर्नेमा पूँजिवादी शासकहरुले गर्दा नेपाल लगाएत विश्वका पूँजिवादी देशहरुमा यो समस्या देखिएको छ ।” सो कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्या मेघबहादुरा खत्रीको पनि उपस्थिति थियो ।