
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार दिउँसो थप ४ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेको थियो । योसँगै ज्यान गुमाउनेको संख्या ९९ पुगेको थियो ।
शुक्रबार साँझतिर धनुषाका एक पुरुषको कोरोनाका कारण ज्यान गएको थप पुष्टि भएको थियो । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर–४ का ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनमा श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।
मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाका अनुसार थप उपचारको लागि बिहीबार काठमाडौं रिफर गरिएको थियो । काठमाडौँ नपुग्दै उनको निधन भएको थियो । कोरोना परीक्षण गर्दा शुक्रबार संक्रमण भएको पुष्टि भएको छ ।
शुक्रबारसम्म प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । सबैभन्दा बढी पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिराहामा २र२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको जानकारी दिएका थिए ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । अहिले देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै कोरोना जित्नेको संख्या १७ हजार ७७ पुगेको छ । पछिल्लो घण्टामा २४० जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार देशभर १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेका छन् भने ७९१३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।