
काठमाडौँ । नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको कोरोनाका कारण निधन भएको जानकारी दिए । गौतमका अनुसार धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । काठमाडौं उपत्यकामा भुसको आगोझैं कोरोना संक्रमण फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।