
नेपालगंज । कोरोना भाइरस संक्रमणका कारण अछामका एक पुरुषको निधन भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा सोमबार निधन भएको हो ।
आजै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारत बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको निधन भएको थियो । अहिलेसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
यसैबीच ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा सोमबार विहान निधन भएको थियो । तर, पीसीआर रिपोर्ट साँझतिर मात्रै आएको अस्पताल स्रोतले बताएको छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको ज्यान गएको पुष्टि गरेको थियो । त्यतिबेला ज्यान गुमाउनेको संख्या ७९ रहेको थियो । त्यसपछि किष्ट र कोहलपुर मेडिकल कलेजमा थप दुई जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।
आज दिउँसो प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको कोरोना कारण निधन भएको जानकारी दिएका थिए ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको थियो । साउन २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको गौतमले जानकारी दिए ।