
जुम्ला । नेपाल कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला सेक्रेटरीसहित पाँच नेता कार्यकर्तामाथि कुटपिट गरी प्रहरीलाई बुझाएको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज विश्वासले एक विज्ञप्ति जारी गरेर कोरोना संकटमा भएका जनतालाई जनचेतना दिँदै संगठनात्मक काममा खटिएका नेता कार्यकर्तालाई तिला गाउँपालिका वडा नं.६ का वडाअध्यक्ष भक्तबहादुर रोकायाको अगुवाईमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीलाई बुझाएको बताएका छन् ।
साउन २४ गते साँझ स्थानीयको घरमा खाना खाइरेको बेला रोकायाको नेतृत्वमा ३० जना नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मदिरा सेवन गरेर एक्कासी आ क्रमण गरेको इन्चार्ज विश्वासले बताएका छन् । कुटपिट गरी पार्टीका जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, युवा संगठन नेपाल जुम्लाका अध्यक्ष नन्द तिरूवा (क. नवीन) र बहिनी सपनालाई नेपाली काँग्रेसका स्थानीय नेता-कार्यकर्ताहरुले कुटपिट गरेर प्रहरीलाई बोलाएर बुझाएको विज्ञप्तिमा बताइएको छ ।
नेकपाले घटनाको जिम्मेवार वडाअध्यक्ष र नेपाली काँग्रेस हुने भन्दै यसको ठूलो मूल्य चुकाउन तयार रहन समेत चेतावनी दिएको छ ।
यस्तो छ विज्ञप्ति
यहि मिति २०७७ साउन २४ गते राति तिला गाउँपालिका वडा न.६ पर्ने घोडे गाउँमा भएको अकल्पनिय घटनाले हाम्रो नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती जुम्लाको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड- १९ ले देश र जनता संकटमा भएको बेला जनतालाई जनचेतना दिँदै संगठनात्मक कामकाजमा खटिएको बेला हाम्रो पार्टीका नेताकार्यकर्तालाई साँझ ९ बजे नेपाली काँग्रेसबाट निर्वाचित तिला गा .पा वाड न. ६ का वडा अध्यक्ष भक्तबहादुर रोकायाले राजनीतिक प्रतिशोतका आधारमा गुण्डाशैलीमा आफ्ना चुल्ठे मुन्द्रेहरुलाई मदिरा सेवन गराई हाम्रो पार्टी जिल्ला समिती जुम्लाका सेक्रेटरी राजबहादुर भाम (क.उदय) , जनताको घरमा खाना खाईरहेको अबस्थामा अपराधिकशैलीमा वडा अध्यक्ष भक्त बहादुर रोकायाको नेतृत्वमा २०-३० जना काँग्रेसी गुण्डाहरूले नियन्त्रणमा लिएर कुटपिट गरी घाईते बनाए । आफ्नो अपराध लुकाउन चन्दाको बहाना बनाई प्रहरी प्रशासनलाई खबर गरि बुझाएका छन् ।यस घटनाप्रति प्रहरी प्रशासन गम्भीर रहनका साथै यस कायरतापूर्ण घटनाप्रति नेकपा जुम्ला खेद प्रकट गर्दछ ।
उक्त घटनाको प्रमुख नाइके भक्त ब.रोकाया, मातृ पार्टी नेपाली काँग्रेस जिल्ला समिति जुम्ला,उक्त पार्टी नेतृत्व र तिला गाउँपालिकालगायतका जिम्मेवार निकायहरु घटनाको भागेदार हुनुपर्ने । साथै वर्ग संघर्षको मैदानबाट ठूलो मूल्य चुकाउनका लागि तयार हुन सम्बन्धित जिम्मेवार निकायलाई यसै प्रेस विज्ञप्तीबाट जानकारी गर्दछौँ ।
स्मरण होस् कि न्याय र मुक्तिका लागि क्रान्तिकारीहरुले जस्तो सुकै परिस्थितिको सामाना गर्न तयार अबस्थामा हुने नै छौँ। जुम्ला जिल्ला प्रशासनको नियन्त्रणमा रहेका क्रान्तिकारी योद्वाहरूलाई बिनासर्त यथाशिघ्र रियाई को माग गर्दछौँ ।