काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप पाँच जनाको निधन भएको पुष्टि गरेको थियो । दिउँसो मृतकको संख्या ७० पुगेको थियो । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ६५ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको पुष्टि भएको हो । उनको शुक्रबार विहान निधन भएको थियो । कोरोना आशंका गरिएको पीसीआर रिपोर्ट साँझमात्रै आएको छ ।
स्वास्थ्यमा समस्या अस्पताल भर्ना भएको उनको उपचारको क्रममा गण्डकस्थित नारायणी अस्पताल विषेश कोरोना अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा निधन भएको थियो । अस्पतालका अनुसार उनी दमका रोगी थिए । योसँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने देशभर ७१ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा थप पाँच जनाको कोरोनाका कारण ज्यान गएको जानकारी दिएका थिए । निधन हुनेमा पर्साका ३ जना, सर्लाही र सिरहाका एक–एक जना थिए ।
पर्साको वीरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा निधन भएको छ ।
वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको ज्यान गएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित पुष्टि भएको प्रवक्ता गौतमले बताए । यससँगै हालसम्म कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । त्यस्तै, शुक्रबार थप ४ सय २५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् । शुक्रबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । जसमध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बाग्मती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन् ।
काठमाडौँमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।