
काठमाडौं । रोल्पाका अग्रज कम्युनिस्ट नेता बर्मन बुढाको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बुढाको पशुपतिस्थित विद्युतीय श’वदाहगृहमा अन्त्येष्टि गरिएको हो ।
थवाङ घर भएका ९० वर्षीय बुढा रोल्पाका पहिलो कम्युनिस्ट नेता समेत मानिन्छन् । बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । एक वर्ष पहिलेदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए ।
पूर्वसांसदसमेत रहनुभएका बुढाको अन्त्येष्टिको लागि उपराष्ट्रपति नन्दबहादुर पुन, (नेकपा) प्रचण्ड सहभागी पशुपति पुगेका थिए । पुनले राष्ट्रिय झण्डा र प्रचण्डले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरु पनि बुढाको अन्त्येष्टिको लागि पशुपति पुगेका थिए ।
कम्युनिस्ट विचार र सिद्धान्तमा अडिग सरल स्वाभावका बुढाले तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।