
काठमाडौं । सरकारले शैक्षिक संस्थाहरुलाई भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन दिने निर्णय गरेको छ । कोरोना भाइरसका कारण रोकिएको भर्ना र परीक्षा संचालन गर्न दिने सरकारले निर्णय गरेको हो ।
अर्थ, संचार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्दै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा संचलान गर्न दिने निर्णय गरेको जानकारी दिए । मन्त्री खतिवडाले भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए ।
सरकारले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रजस्ता शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्री खतिवडाले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन सुरु गर्ने भनिएको छ । शूल्क लिन नपाएपछि निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन) र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेको छ ।
त्यसैगरी सरकारले साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट खोल्न दिने निर्णय समेत गरेको छ । लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको हो । साउन १५ गतेबाट होटल खुले पनि भोज र पार्टीमा भने प्रतिबन्ध जारी नै राखिएको छ ।
सरकारले हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी लिए ।