
धनगढी । नेपाल कम्युनिस्ट पार्टीले साउन ६ गते सेती महाकाली बन्दको घोषणा गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनको गिर’फ्तारीविरुद्ध बन्दको घोषणा गरिएको हो ।
नेकपाका सेती महाकाली ब्यूरो कार्यालय सचिव छविलालले विहीबार विज्ञप्ति जारी गरेर पुनको गिर’फ्तारीको विरोध जनाउँदै संघर्षका कार्यक्रमसहित साउन ६ गते बन्दको घोषणा गरेका छन् । कोरोना र बाढीपहिरोका पीडितको राहत र उद्दारमा जुटिरहेका नेता कार्यकर्तालाई गिर’फ्तार गर्न थालिएको भन्दै बन्दको घोषणा गर्नुपरेको सचिव छविलालले जनाएका छन् ।
असार ३१ गते ब्यूरो इन्चार्ज पुनसँगै नेतृ पूर्णीमा धामीलाई अपमानजनक ढङ्गबाट झुट्टा मुद्दा भिराएर हिरासतमा राखेको भन्दै नेकपाले विरोध जनाएको छ । विगत ३ साताको समयमा मात्र सेती–महाकालीका विभिन्न जिल्लाहरूबाट एक दर्जन नेता–कार्यकर्ताहरूलाई गिर फ्तार गरिएको भन्दै नेकपाले संघर्षमा जानु पर्ने बाध्यता भएको जनाएको छ । यसअघि केन्द्रीय सदस्य चूडामणि ओलीसहित नेता कार्यकर्तालाई गिर’फ्तार गरेर विभिन्न मुद्दा लगाएर हिरासतमा राखिएको छ ।
“श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको वली सरकार पतन उन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको छ जुन फासिवादी हर्कतका अगाडि झुक्नुको साटो लुटेरा, दलाल सरकारलाई मुहतोड जबाफ फर्काइनेछ । अतः आमनागरिकहरू महामारीले उब्जाएको पीडामा उकुसमुकुस भैरहेको अवस्थामा नचाहँदानचाहँदै पनि फासिवादी सरकारको दमन, धरपकड तथा गिर’फ्तारी, झूट्टा मुद्दा र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्न सेती–महाकाली ब्युरोमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।
कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।