
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६ सहित नयाँ थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरमा १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै, देशका विभिन्न २५ प्रयोगशालामा ३ हजार ९१६ नमूना गरिएको परीक्षणमा थप संक्रमित भेटिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ४७ जनाले कोरोना भाइरससँग जितेर घर फर्केका छन् । योसँगै संक्रमित भन्दा जित्नेको संख्या धेरै भएको छ । आइतबारसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ५८९ पुगेको छ । कुल संक्रमित १६ हजार ८०१ मध्ये अहिले सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यसैगरी कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, विभिन्न आइसोलेसनबाट कोरोना जितेर ४३ जना घर फर्केका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पता, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र पश्चिम रुकुमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका ४ महिलासहित ११ जना, कालीकोटको महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिका २ महिलासहित ७ जना रहेका छन् ।
यस्तै रुकुम पश्चिमको जौरजहारीका दुईजना पुरुष र दैलेखको आठबीस नगरपालिकाकी एक महिला रहेकी छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६१६ पुगेको छ ।