
काठमाडौँ । चर्चित भारतीय कलाकार तथा अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै बाउ छोरालाई शनिबार राति नै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।
अभिनेता बच्चनले आफैँले टूवीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई परीक्षण गर्न समेत भनेका छन् । त्यस्तै परिवारका र कर्मचारीमा पनि परीक्षण गरिएएको तर रिपोर्ट आउन बाँकी रहेको समेत बताएका छन् ।
“मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित गरिएको छ,’ उनले ट्विटमा लेखेका छन्, ‘परिवार र कर्मचारीको पनि परीक्षण गरिएको छ, रिपोर्ट आउन बाँकी छ । पछिल्ला १० दिनमा मसँग सम्पर्कमा आउनुभएका सबैले परीक्षण गराउनुहोला” बच्चले भनेका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य र कर्मचारीलाई सेल्फ आइसोलेसनमा राखिएको थियो । बच्चन बाबुछोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।
अभिताभ पछिल्ला दिनमा सोनी टेलिभिजनबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’को १२ औँ अडिसनको तयारीमा थिए । महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमणको जोखिम समूह मानिएका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर निस्केर कुनै काम गर्न अनुमति दिएको छैन । सोही कारण बच्चनले ‘कौन बनेगा करोडपति’को सुटिङ सुरु गर्न पाएका छैनन् ।
कोरोना पोजेटिभ देखिएपनि बच्चन बाउछोराका स्वास्थ्य सामान्य रहेको भारतीय संचारमाध्यमहरले बताएका छन् । भारतमा राजनीतिज्ञ, सिनेमा जगतका व्यक्तिहरु र आम मानिसले बच्चन बाबुछोराको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
त्यसैगरी रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदै छन् । यसअघि फिल्म ‘गुलाबो–सिताबो’मा देखिएका थिए । यस फिल्ममा उनको साथमा आयुष्मान खुराना मुख्य भूमिकामा छन् ।