आज :

म्याग्दीमा पहिरो-बाढीले घरसँगै २९ जनालाई बगायो, सयौंको उठिबास

म्याग्दी । अविरल बर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना हराएका छन् ।

प्रहरीका अनुसार धवलागिरी–६ का २१ र मालिका–७ बिमका ८ जना पहिरोमा बे पत्ता भएका छन् । पहिरोले घरसँगै उनीहरुलाई बगाएको हो । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा १ जना बे पत्ता भएका छन् । त्यस्तै रिखका भीमप्रसाद जुग्जालीको घरका ४ र धनबहादुर जुग्जालीको घरका ३ जनालाई पहिरोले बगाएको छ ।
सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन जनासहित तीन घर बगाएको छ । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन पहिरोमा बगेको छन् । रदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बे पत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मालाई पनि पहिरोले बगाएको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना च्यापिएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताएका छन् । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

स्थानीय गणेश सुवेदीका अनुसार धवलागिरी गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको छ । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । वर्षा भइरहेको र कुहिरो लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्दार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal