आज :

ओलीले प्रचण्डलाई भने- पार्टी अध्यक्ष छोड्दै छोड्दिन, प्रधानमन्त्रीबारे सोच्न सकिन्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थगित गरिएको स्थायी समिति बैठक फेरि आज पनि स्थगित भएको छ । आज विहान ११ बजे बस्ने भनिएपनि अन्तिममा आएर बाढी पहिरोमा जुट्नु पर्ने बताउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थगित गरिएको सामाजिक संजालमार्फत जानकारी दिए ।

फुटको डिलमा पुगेर बचेको (नेकपा) को विवादले अझै कुनै दिशा लिन सकेको छैन । सहमतिको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई विवाद मिलाउने जिम्मा दिइएको छ । विवाद समाधनको लागि दुबै अध्यक्षपार्टीभित्रको विवाद मिलाउन पटकपटक भएका औपचारिक र अनौपचारिक वार्ता निष्कर्षमा पुग्न सकेका छैनन् ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशैलीको विरोध गर्दै स्थायी समिति सदस्यहरुले राजिनामा मागेका थिए । ४४ सदस्यीय स्थायी समिति बैठकमा ३१ जनाले राजिनामा मागेका थिए । आफ्नो विरोध हुन थालेपछि ओलीले बैठकस्थल जान नै छोडेर सत्ता सुदृढ गर्नतिर लागेका थिए ।

ओलीले बैठक स्थायी समिति बैठकमा नगएर संसद अधिवेशन अन्त्य गरेपछि विवादले संवैधानिक रुप लिएको थियो । ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध षड्यन्त्र भएको भन्दै संसद अधिवेशनको अन्त्य गर्नु परेको जवाफ दिँदै आएका छन् । अर्का अध्यक्ष प्रचण्ड, नेता माधव कुमार नेपालसहितका नेताहरुले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरेको आरोप ओलीको लगाइरहेका छन् । त्यसको प्रचण्ड–नेपालले खण्डन गर्दै आएका छन् । प्रचण्ड र नेपाल खेमाका नेताहरुले पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको बताउँदै आएका छन् ।

विहीबारसम्म भएका वार्तामा कुनै सहमति जुटिसकेको त छैन तर प्रधानमन्त्री एक पद छोड्न तयार हुँदै गएको प्रचण्ड निकट नेताहरु बताउँछन् । ओली सुरुको अडानबाट विस्तारै लचक हुँदै गएको प्रचण्डले आफू निकट नेताहरुसँग बताएका छन् । सुरुका छलफलमा दुबै पद नछोड्ने बताउँदै अध्यक्षको लागि महाधिवेशन र प्रधानमन्त्रीको लागि चुनाव कुर्न भनेका थिए । तर, पछिल्ला छलफलहरुमा ओली त्यसबाट पछि हटेको एक नेताले बताए ।

एक नेताका अनुसार ओलीले अध्यक्ष पद नछोड्ने तर छोड्नै पर्ने अवस्थामा प्रधानमन्त्रीबारे सोच्न सकिने बताएका छन् । “ओली कमरेडले पार्टी अध्यक्ष छोड्ने कुरै आउँदैन बरु प्रधानमन्त्रीबारे सोच्न सकिन्छ भन्ने सन्देश पठाउनु भएको छ । यो सकारात्मक नै हो । हामीले एक व्यक्ति एक पदको कुरा गरेका मात्रै हौँ । पार्टी अध्यक्ष वा प्रधानमन्त्री रोज्न उहाँको अधिकार हो” प्रचण्ड निकट एक स्थायी समिति सदस्यले अनलाइन डबलीसँग भने । उनले अब एक हप्तापछि बस्ने बैठकमा सहमति जुट्ने आशा समेत व्यक्त गरे । महाधिवेशनपछि पनि अध्यक्ष बनाउने विश्वास प्रचण्डले दिलाए प्रधानमन्त्री छोड्न सकारात्मक भएको उनले बताए । ओलीसँगको वार्ताबारे प्रचण्डले आफू निकट नेताहरुलाई ब्रिफिङ गर्ने गरेका छन् । प्रचण्डले ओली विस्तार लचक हुँदै गएको बताएको ती स्थायी समिति सदस्यले बताए ।

पार्टी अध्यक्ष छोडे नेतृत्व पूर्वमाओवादीको हातमा जाने र त्यसले महाधिवेशनमा असर पर्ने अध्यक्ष ओलीको बुझाई भएको नेताहरु बताउँछन् । अहिले नै एकल अध्यक्ष दिए एमालेको लिगेसी गुम्ने ओली निकट नेताहरुको बुझाई छ । उनीहरुले ओलीलाई कुनैपनि हालतमा पार्टी अध्यक्ष छोड्न नहुने सुझाव दिइरहेका छन् ।
दोस्रो पुस्ताका नेताहरुले शुक्रबार विहानसम्म विभिन्न चरणमा छलफल गरेका छन् । छलफलमा पार्टी फुट्न नदिने सहमति भएको बताइन्छ । त्यसको लागि ओलीलाई एक पद छोड्न लगाउने छलफल भएको एक नेताले बताए । त्यसैगरी सडकमा ओलीको पक्षमा भइरहेको प्रदर्शनलाई रोक्न नेताहरुले आग्रह समेत गरेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले पनि प्रचण्ड, नेपाल र झलनाथ खनालसहितका नेताहरुसँग भेटरै छलफल गरेकी छन् । यान्छीले पार्टी फुट्न नहुने सुझाव दिँदै आएकी छन् । भेटको क्रममा राजदूत यान्छीले दुबै नेता मिलेर जान सुझाव समेत दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal