धनगढी । केही दिनदेखि पारिरहेको पानीसँग तराईका क्षेत्र डुबानमा पर्न थालेका छन् । बुधबारदेखि परेको पानीका कारण कञ्चनपुरका केही क्षेत्र डुबानमा परेका छन् । महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानमा परेका छन् ।
भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी, कञ्चनपुरकै बेदकोट नगरपालिका–१० दैजी क्षेत्रका घर टहरा पनि डुबानमा परेका छन् । कञ्चनपुर प्रहरीले ६० घरपरिवार विस्थापित भएको बताएको छ । खासगरी मुक्त कमैया र सुकुम्बासी शिविरमा पानी पसेको छ । महेन्द्रनगर बजार क्षेत्रमा पानी सतह माथि आएको छ ।
त्यसैगरी महाकाली नगरपालिकाको चाँदनी क्षेत्रका करिब एक सय घर टहरा डुबानमा परेका छन् । तर अहिले पानीको सतह घटिरहेको छ । त्यसैगरी कैलालीका केही क्षेत्र पनि डुबानमा परेका छन् । कैलालीमा पनि मुक्त कमैया र सुकुम्बासी बस्ती बाढीबाट बढी प्रभावित भएका छन् । कैलाली संवाददाताका अनुसार जिल्लाभरी करिब एक सय जति घर टहरा डुबानमा परेका छन् ।
- फाइल फोटो