
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । शुक्रबार थप ५९३ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा तीनसहित विभिन्न जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।
गौतमका अनुसार नयाँ संक्रमितमा १०७ र ४८६ जना पुरुष रहेका छन् । त्यसैगरी बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जनाले कोरोनासँग जितेका छन् । उनीहरु विभिन्न जिल्लाहरुबाट निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।
त्यसैगरी नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । दाङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै यो संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अचेत अवस्थामा भेटिएकी महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका परिवारसँग सम्पर्क भएको छैन ।
यसअघि कर्णाली प्रदेश अस्पतालको आकस्मिक बाहेका सबै सेवा बन्द गरिएको थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल लक गरिएको थियो । कर्णालीमा मात्रै थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको थियो ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक/एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार काठमाडौंका एक व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ र वराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायानाथ रारा नगरपालिकाका, जुम्लाको सिञ्जा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेशमा मात्रै १ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ७ सय २० जनाले कोरोनासँग जितेको महाशाखाले जनाएको छ ।