
काठमाडौं । काठमाडौँका १९१ जना पत्रकारमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । नेपाल पत्रकार महासंघको समन्वयमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको हो । महासंघको केन्द्रीय कार्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले स्वाब संकलन गरेको थियो ।
पहिलो चरणमा टोलीले अग्रमोर्चामा रिपोर्टिङ गरिरहेका विभिन्न संचारमाध्यममा कार्यरत १९१ पत्रकारको मंगलबार स्वाब संकलन गरेको थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा महासङ्घका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले सबैको रिपोर्ट नेगेटिभ आएको पुष्टि गर्दै उक्त रिर्पोट चाँडै नै सम्बन्धित पत्रकारलाई वितरण गरिने बताए ।