
काठमाडौं । कोरोनामुक्त घोषणा गरिएको चीनको वुहानमा फेरि संक्रमण देखिन थालेको छ । वुहानमा कोरोना फेरि फर्किएको आशंकामा चीन सरकारले आम रुपमा परीक्षण सुरु गरेको छ
चिनियाँ संचारमाध्यमहरुका अनुसार अभियानात्मक रुपमा वुहानमा आम परीक्षण सुरु गरिएको हो । केही समयदेखि शून्य संक्रमण भएको वुहानमा दिनदिनै संक्रमित भेटिन थालेका छन् ।
चीन सरकारले वुहानमा मात्रै करिब एक करोड दश लाख मानिसमा कोरोनाभाइरसको संक्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरेको बताइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ ।
उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले उल्लेख गरेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन गरिएको छ । कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएको चिनियाँ अधिकारीहरीले बताएका छन् ।