
कालिकोट । रास्कोट नगरपालिकाले राहत वितरणको क्रममा भेटिएका कुहिएको चामल फिर्ता लगिसकेकोले राजनीतिक प्रतिशोध नबनाउन आग्रह गरेको छ । नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले विहीबार एक सूचना जारी गरेर लकडाउनबाट प्रभावित १७ सय ४३ घर परिवारलाई राहत बाँडेको जानकारी गराउँदै सोही क्रममा वडा नं. ९ कुहिएको चामल भेटिएको जानकारी हुने वित्तिकै फिर्ता लगिसकेको बताएका छन् ।
प्रमुख बरालले खाद्य पदार्यको गुणस्तर, खरिद, मूल्य, समयजस्ता विषयमा कुनै असहजता नआओस् भनेर नेपाल खाद्य संस्थानबाट १२ सय बोरा चामल खरिद गरेको बताएका छन् । सोही चामलमा एक–दुई बोरा चामल भेटिएको बताउँदै बरालले उक्त कुरा त्रृटिपूर्ण भएको बताउँदै उक्त बोराको परीक्षण र आवश्यक अनुसन्धान गर्न पहल गर्ने समेत बताएका छन् । बरालले खाद्य संस्थानले विशेष सतर्कता अपनाउन जरुरी रहेको रहेको समेत बताए ।
बरालले जारी गरेको सूचनामा बैशाख २३ गते मंगलबार उक्त चामलको बोरालाई वडा कार्यालयले नियन्त्रणमा लिएको तर राहत वितरण भनेर भ्रमित बनाउन कोसिस गरिएको बताएका छन् । उनले राजनीतिक प्रतिशोधको विषय नबनाउन र भ्रममा नपर्न पत्रकारसहित नगरबासीलाई आग्रह गरेका छन् ।
यस्तो छ प्रमुख बरालले जारी गरेको सूचना
रास्कोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित १७ सय ४३ घरपरिवारलाई राहत बाँडेको छ । खाद्य पदार्थमा गुणस्तर, खरिद मुल्य, समय जस्ता बिषयमा कुनै असहजता नआओस् भन्ने उद्देश्यले नेपाल खाद्य संस्थानबाट खरिद गर्ने निर्णय गरिएको थियो ।
यहि मिति २०७७ साल बैशाख २३ गते मंगलबार नगरपालिकाको वडा नं ९ मा बितरण गरिएको राहत सामाग्री अन्तरगत एक बोरा चामल कुहिएको जानकारी प्राप्त हुनेबित्तिकै फिर्ता लगिसकेको छ । नेपाल खाद्य संस्थानबाट खरिद गरिएको १२ सय बोरा चामलमा एक(दुई बोरा चामल कुहिएको भेटिनु त्रुटिपूर्ण कुरा हो । उक्त चामलको बारेमा परीक्षण र आवश्यक अनुसन्धान गर्न पहल गरिनेछ । यसमा नेपाल खाद्य संस्थानले विशेष सतर्कता अपनाउन जरुरी छ ।
तथापि केही व्यक्तिहरुले वडा कार्यलयले नियन्त्रणमा लिइसकेको चामल को बोरा लाई राहत बितरन गरेको भनी लुकेर नियन्त्रण मा लियको चामल को तस्बिर खिचेर सामाजिक सञ्जालमा भ्रमित गर्ने कोसिस गरिरहेका छन् । यसलाई कसैले राजनीतिक प्रतिशोधको बिषय नबनाउन र भ्रममा नपर्न सञ्चारकर्मी, पत्रकार, आम जनसमुदायलाई आग्रह गर्दछौं ।