
काठमाडौँ । उद्गम मानिएको चीनको वुहान शहर कोरोनाभाइरसबाट मुक्त भएको छ । नयाँ संक्रमित नभएपनि पुरानालाई केही अस्पतालहरुमा उपचार भइरहेको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले वुहानमा कुनै बिरामी नभएको बताए । उनले कोरोनाविरूद्धको लडाइँमा सफलता पाउनुमा स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण रहेको बताए ।
करिब ५ करोड जनसंख्या रहेको हुवेई प्रान्तमा कोरोनाका ६८ हजार १ सय २८ संक्रमित मध्ये वुहानमा ५० हजार ३ सय ३३ जना छन् ।
वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ छ । चीनमा ७७ हजार ३९४ संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।
दुई महिना बढी समयपछि अप्रिल ८ मा खुलेको वुहान अहिले सामान्य बन्दै गएको छ ।
यसैबीच चीन सरकारले कोरोनाबाट बच्न भन्दै नयाँ नयम सार्वजनिक गरेको छ । खोक्दा, थुक्दा मुख छोप्नुपर्ने, सफा लुगा लगाउनु पर्ने, सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइनेलगायत रहेका छन् । चीन सरकारले नियम उल्लंघन गर्नेलाई कडा कारवाहीको व्यवस्था समेत गरेको छ ।