
सर्लाही । उखु किसानहरु केही दिनदेखि चिनी मिलसँगको वक्यौता चुक्ता हुनुपर्ने माग गर्दै माइतीघरमा धर्ना बसेका छन् ।
चिनी मिलले ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको वक्यौता भुक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताए ।
यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनको भनाइ छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भुक्तानी बाँकी रहे पनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । काठमाडौं आएपछि पुसको चिसोमा खाने र बस्ने ठेगानसमेत नपाएका उखु किसान केही दिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् ।
भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिल कुनै पनि हालतमा चल्नसमेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताएका छन् । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ ।
चिनी मिलले भने किसालाई उखुको मूल्य मनोमानी रुपमा प्रतिक्वीन्टल ४ सय रुपैयाँ ४ सय ५० रुपैयाँ मात्र दिने गरेको छ । किसानहरु सरकारले निर्धारण गरेका मूल्य अनुसार भुक्तानी नपाउँदा आनदोलित भएका हुन् ।