
पोखरा । जारी पोखरा प्रिमियर लिगको आइतबारको खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई जितेको छ ।
पारस खड्काको कप्तानीमा रहेको चितवनले प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरमाथि आइतबारको पहिलो खेलमा १८ रनको जित दर्ता गरेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । १४७ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुवाती ब्याट्स म्यान क्रिजमा टिक्नै सकेनन् ।
विराटनगरलाई उकास्ने क्रममा पुनित मेहेरा र लोकेश बमले पारी सम्हालेका थिए । त्यसअघि नोमन खानको १८ रन मात्र उल्लेखनीय स्कोर थियो । विराटनगरको खस्किएको पारी सम्हालेका पुनित मेहेरा २४ रन बनाउँदै पभेलियन फर्कंदा लोकेश बम ५० रनमा अभिजित रहे ।
चितवनका लागि भुवन कार्कीले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्तफाले २ विकेट लिए । करण केसी र सन्नी पटेलले समान १–१ विकेट लिए । लगातार ४ खेल जितेको चितवन अंक तालिकाको शीर्ष स्थानमा छ । चितवन अब हुने खेल हारे पनि फाइनल पुग्नेछ ।