
काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत गरिने बताए ।
पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा निजीकरण गर्नुपर्ने आवाज उठेको छ । जनतालाई परिर्वतनको अनुभूति दिनुपर्छ भन्ने मान्यताका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले छिट्टै पेट्रोलियम कारोबार सम्बन्धी ऐन, नियम ल्याउने बताए ।
मन्त्री भट्टले कानून पालना गराउन सरकार पछि नपर्ने भन्दै नागरिकको सुरक्षाप्रति सधैँ गम्भीर बन्न उद्योगीलाई आग्रह गरे । सरकार अनुगमन गर्ने नाममा उद्योगी, व्यवसायी समक्ष जान नपरोस् भन्नेमा रहेको प्रष्ट पार्दै भने,‘व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार छ, तपाईहरू उपभोक्ताको सुरक्षाप्रति गम्भीर बन्नुहोस आफ्ना उत्पादन गुणस्तरीय छन् की छैनन् भनेर आफैं अनुगमन गर्नुहोस् ।’
एलपी ग्यासमा अझै पनि उपभोक्ता ठगिइरहेका छन् भन्ने गुनासोप्रति उद्योगीको ध्यानाकर्षण गराउँदै उनले ग्यासको सिलिण्डर तौलेर तोकिएको परिमाणमा ग्यास रहेको यकीन गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरे । ‘जनतालाई आफू ठगिएको महसुस हुनुहुँदैन, सिलिण्डर जोखेर दिनुपर्नेमा आपत्ति नजनाउनुहोस्’ उनले भने ।
उद्योग दर्ता गरेपछि अन्य सरकारी निकायसँग मन्त्रालयले नै समन्वय गरिदिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो । कार्यक्रममा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले एलपी ग्यासमा निकै जोखिम रहेकाले उपभोक्ताको सुरक्षा र गुणस्तरमा ध्यान दिन आग्रह गरे ।