
काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी-ट्वान्टी क्रिकेट र महिला टी-ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने साग आयोजकले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको छ ।
नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुने भएको छ । सागको पुरुषतर्फ ५ टोली सहभागी छन् । यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।
नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग हुनेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्ने छन् ।
तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आज नै सार्वजनिक गरेको महिला टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्सलाई पाएको छ ।
४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल र माल्दिभ्सबीचको खेल मङ्सिर १६ गते हुनेछ । नेपालको दोस्रो खेल १८ गते बङ्गलादेशसँग हुनेछ भने मङ्सिर २० गते श्रीलङ्कासँग अन्तिम खेल हुनेछ ।
महिला क्रिकेटमा ४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्ने छन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुने भएको छ ।