
काठमाडौं । आफ्नो साथीको बहिनी करणी गरेको आरोपमा पक्राउ परेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले विद्यार्थी नेतासमेत रहेका उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनी रत्नराज्यलक्ष्मी क्याम्पस अन्तर्गत अनेरास्ववियूका केन्द्रीय सदस्य थिए ।
न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबारको इजलाशले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
तिहारको बेला चिनजानकै युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।