आज :

एक सातामा उपत्यकाबाट १० लाख यात्रु बाहिरिए, ६ लाख भित्रिए

दसैँ, तिहार र छठलगायतका चाडपर्व मनाउनका लागि पछिल्लो एक हप्तामा १० लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौंबाट बाहिरिने ४ नाका प्रयोग गरी मंगलबारसम्ममा १० लाख मानिस बाहिरिएका छन् ।

विभिन्न नाकाबाट काठमाडौंमा ६ लाख मानिस भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले दैनिक १ लाखदेखि १ लाख २५ हजारसम्म मानिस बाहिरिने गरेको बताए ।

पछिल्ला वर्षहरूमा यात्रु आफैँले सवारीसाधन रिजर्भ गरेर पनि घर जाने चलन छ । त्यो संख्यालाई भने नजोडिएको उनको भनाई छ । ट्राफिक प्रहरीले भने १० लाख मानिस बाहिरिए पनि ६ लाख मानिस काठमाडौं भित्रिएको जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही वर्षदेखि काठमाडौंमै दसैँ मनाउने क्रममा वृद्धि भइरहेको छ । पहिले काठमाडौंबाट बाहिरिने मानिस मात्र हुन्थे, तर अहिले भित्रिने मानिसको संख्या पनि उत्तिकै छ,’ प्रवक्ता पौडेलले भने ।

यसले पनि उपत्यकाभित्रै दसैँलगायतका पर्व मनाउने क्रम वृद्धि हुँदै गएको छ । बिहीबारदेखि शनिबारसम्म काठमाडौंबाट घर फर्किनेको संख्या अधिक हुन्छ । ३ दिनमा यातायात व्यवस्थापन कठिन हुने यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले बताएका छन् ।

ट्राफिक प्रहरीले भने सबै नाकामा आवश्यक जनशक्ति पर्याप्त रहेको र कुनै अप्रत्याशित घटना नभएको अवस्थामा सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिएको छ । सडकका खाल्टाखुल्टीले गन्तव्यमा पुग्न ढिलाइ भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

यसका साथै दसैँ-तिहारको समयमा यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिएको पनि बताए । यातायात व्यवस्था विभागले यसअघिको सूचनालाई सच्याउँदै बिपी राजमार्गबाहेक सडकमा रुट परमिट लिनुनपर्ने व्यवस्था गरेको छ ।

विभागले १२ असोज (आइतबार) देखि १९ असोजसम्म रुट परमिट लिनुनपर्ने व्यवस्था गरेको हो । दसैँ, तिहार, छठजस्ता चाडपर्व मनाउन घर जाने यात्रुको सहजका लागि ८ दिनका लागि बाटो इजाजतपत्र नचाहिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले बताए । बिपी राजमार्गमा भने सडकको संवेदनशीलताका कारण ठूला सवारीसाधन सञ्चालन गर्न अनुमति लिनुपर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal