
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले स्ट्रेट अफ हर्मेज भनिने सामुन्द्रिक मार्गमा इरानी जासुसी ड्रोन खसालेको दाबी गरेका छन् ।
उनका अनुसार उक्त ड्रोन अमेरिकी पानीजहाजको ठीक माथि उडिरहेको थियो । इरानले भने उक्त घटनाबारे अनभिज्ञता जनाएको छ ।
उसले भनेको छ, हाम्रो कुनै ड्रोन हराएको जानकारीमा छैन । यसअघि इरानले तेल तस्करीमा संलग्न रहेको आशंकामा एक विदेशी ट्यांकर नियन्त्रणमा लिएको थियो ।
ट्रम्पले भने, “उक्त ड्रोन हाम्रो पानीजहाजको धेरै नजिकबाट उडिरहेको थियो । हाम्रा लागि सुरक्षा चुनौती उत्पन्न भएपछि उक्त ड्रोन नष्ट गरिएको हो ।’
उनले इरानले अमेरिकालाई उत्तेजित बनाउने कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘उसले शत्रुतापूर्ण व्यवहार देखाइरहेको छ । त्यसो हो भने अमेरिकालाई पनि आफ्नो सेना र चासोको रक्षार्थ कारबाही चलाउने अधिकार छ ।’
अमेरिकाले इरानद्वारा नियन्त्रण तेल ट्यांकरलाई तुरुन्तै छाड्न दबाव दिइरहेका बेला उक्त घटना भएको हो । यो घटनाले दुई देशको तनाव अझ चुलिएको छ ।