
काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन ।
एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउन पत्र पठाएको छ ।
अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाई २४ घण्टाभित्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ ।
अख्तियारले ढुंगेलको अकुत सम्पत्तिमाथि छानविन चलाइरहेको छ । बयानका लागि बोलाउन खोज्दा डिएसपी ढुंगेल बेपत्ता भएपछि अख्तियारले हेडक्वाटरमा पत्र पठाएको थियो ।
चैत २६ गते काठमाडौंको रानीबारीमा ललेन्द्र शेरचनको घरमा डकैती भएको थियो । सो डकैती काण्डमा प्रहरीले विक्रम श्रेष्ठलाई पक्राउ गरेको थियो ।
डकैतीमा संलग्न श्रेष्ठ र डिएसपी ढुंगेलविरुद्ध कनेक्सन देखिएपछि प्रहरी मुख्यालयले ढुंगेललाई वैशाख १९ गते निलम्बन गरेको थियो । रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयको ईञ्चार्ज रहेकै अवस्थामा ढुंगेल निलम्बनमा परेका हुन् ।
अकुत सम्पत्ति छानविनमा अख्तियारले डिएसपी ढुंगेललाई पटक-पटक सम्पर्क गरेर बयानका लागि बोलाउँदा अटेर गरेपछि बेपत्ताको सूचीमा राखेर उपस्थित गराउन प्रहरीलाई पत्र काटिएको हो ।
महाराजगञ्जको भेनस रेस्टुरेन्टका मालिकसमेत रहेका उनी रानीबारी डकैती घटनाका अभियुक्त श्रेष्ठसंग डकैति भएकै दिन उनको रेस्टुरेन्टमा भेटघाट भएको बयान श्रेष्ठले दिएपछि ढुंगेल फसेका थिए ।