
काठमाण्डौ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर खराव मौसमका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ ।
आयोगले बुधबार पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण खराव मौसम रहेको देखाएको हो ।
पर्यटनमन्त्री अधिकारीसहित सातजना सवार एयर डाइनेस्टीको कलसाइन ‘नाइनएन एमआई–एसएस ३५० बिथ्रिइ’ हेलिकप्टर विसं २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित तारेढुङ्गा भन्ने सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
उक्त दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेगरी पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो ।
मन्त्री अधिकारीसहितको टोली ताप्लेजुङ्गको चुहानडाडाँलगायतका क्षेत्रको विमानस्थलको सम्भाव्यता अध्ययन तथा स्थलगत निरीक्षण गर्न काठमाडौँबाट गएको थियो ।
चुहानडाँडाको निरीक्षणपछि उक्त टोली पाथिभरा देवीको मन्दिर दर्शन गर्न गएको थियो । जतिबेला त्यहाँको मौसम खराबी थियो हेलिकप्टर उडेको एक मिनेटमै हिमआँधी आएकाले दुर्घटना भएको प्रतिवेदनले औंल्याएको छ ।
मन्त्रालयका अनुसार प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान छ । सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।
पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना सम्बन्धी जाँच आयोगले प्रारम्भिक प्रतिवेदन पर्यटन राज्यमन्त्रीलाई बुझाएको मन्त्रालयका सहसचिव एवम आयोगका सदस्य सचिव बुद्धीसागर लामिछानेले जानकारी दिए । तर, प्रतिवेदनभित्रको विषयवस्तुबारे अहिले नै सार्वजनिक नभएको उनले बताए ।