
काठमाडौं । विदेशी च्यानल प्रशारण बन्द गरेको भन्दै केवल टेलिभिजन प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी परेको छ ।
उपभोक्ताहित संरक्षण मञ्चले सुविसु केवल नेटका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजनका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।
उजुरीमा करोडौं रुपैयाँ अग्रिम भुक्तानी असुल गरेका उभोक्तालाई अन्याय गरेको आरोप लगाइएको छ । केवल टेलिभिजन व्यवसायीले नेपालमा प्रशारण हुने विदेशी च्यानल क्लिन फिड हुनुपर्ने व्यवस्था सरकारले गर्न लागेकोमा सोमबार ३ बजेदेखि २४ घण्टा क्लिन फिड प्रशारण गरेका छन् ।
जसमार्फत् टेलिभिजन प्रशारणमा अवरोध पुगेको आरोप लगाइएको छ । मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले दर्ता गरेको उजुरीमा सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउन माग गरिएको छ ।
मञ्चले ती केबल टेलिभिजन सञ्चालकको उपभोक्तासँगको सझौता, कारोबार, प्रशारणसम्बन्धी सम्पूर्ण विवरण, कागजात तथा कप्युटर फाइलसमेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न माग गरेको छ ।