
काठमाडौं । फुल्हमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
फुल्हमको मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
यसअघि, सादियो मानेको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएपनि रायन बाबलको गोलमार्फत फुल्हमले खेल बराबरी गरेको थियो । प्रिमियर लिगअन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा चेल्सीलाई एभर्टनले २-० ले हराएको छ ।
आफ्नै मैदानमा एभर्टनलाई विजयी गराउन रिचार्लिसन र जिल्फी सिगुर्डसनले १-१ गोल गरेका थिए । हारपछि चेल्सीले अंक तालिकाको चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
लिगमा ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक रहेको छ ।
६० अंकसहित आर्सनल चौथो स्थानमा रहँदा ५८ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौं तथा ५७ अंकसहित चेल्सी छैटौं स्थानमा रहेको छ ।