
कन्चनपुर । १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिना पूरा हुँदैछ तर, घटनामा संलग्न अपराधीको अझै पहिचान भएन ।
घटनामा प्रमाण मेटेको भन्दै ८ जना प्रहरीविरुद्ध मुद्दा दिएकी निर्मलाकी आमा दुर्गादेवीले दिलीपसिंह विष्टतिर शंका गरेपछि घटनाले नयाँ मोड लिएको छ ।
निर्मलाकी आमा दुर्गादेवीले प्रहरीविरुद्ध दिएको बयान फेर्दै यसअघि पक्राउ परेर छुटेका दिलीपसिंह विष्टमाथि नै आशंका गरेपछि घटनाले नयाँ मोड लिएको छ । उनले दिलीपसिंह विष्टमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आफ्नी छोरीको हत्या विष्टले नै गरेको हुन सक्ने आशंका गरेकी छिन् ।
घटनाको सुरुआतदेखि नै प्रहरीले प्रमाण मेटेको आरोप लगाउँदै आएकी पन्त एकाएक एसपी डिल्लीराज विष्टसहितका प्रहरीको पक्षमा उभिएपछि घटना रहस्यमयी भएको छ । उनले ८ जना प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिएकी छिन् ।
दोषीलाई खुला छाडेर निर्दोषलाई जेलमा राख्न नचाहेको बताउँदै ज्यानको जोखिम मोलेर पनि आफूले वास्तविक अपराधीलाई सजाय दिलाउने उनको भनाई छ ।
यसबीचमा घटनाको अनुसन्धान र अनुसन्धानका टोली मात्रै होइन, घटनास्थलको स्वरुपसमेत परिवर्तन भइसकेको छ । शव भेटिएको उखुबारी अहिले गहुँबारीमा परिणत भएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले झन्डै १०० बढी स्थानीयलाई सोधपुछ गर्यो । ७ जनालाई हिरासतमै लिएर अनुसन्धान गर्यो । पक्राउ परेका व्यक्तिहरु प्रमाणको अभावमा यसअघि नै छुटि सकेका छन् ।
तर, पछिल्लो समय निर्मलाकी आमा दुर्गादेवीले ‘बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको’ भन्दै दिलीपसिंह विष्टमाथि आशंका गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
यसअघि, दुर्गादेवी र दिलीप विष्टका दाजु खडकसिंह विष्टको जाहेरीका आधारमा ८ प्रहरीमाथि मुद्दा दायर गरिएको थियो । यता, दुर्गादेवीलाई डर, त्रास वा प्रलोभनमा पारेर अडान फेर्न र प्रहरीको पक्षमा निवेदन दिन लगाइएको दिलीपका दाजु खडकसिंह विष्टको भनाई छ ।
यसअघि, दिलीपलाई प्रहरीले पनि दोषी करार गरेको थियो । प्रहरीले निर्मलाको बलात्कार र हत्यामा एक मात्र अभियुक्त रहेको भन्दै गत भदौ ४ गते पत्रकार सम्मेलनमार्फत दिलीप विष्टलाई सार्वजनिक गरेको थियो ।
डीएनए नमिलेपछि अदालतको आदेशमा रिहा भएका दिलीपलाई दुर्गादेवीले आशंका गरेपछि घटनाले नयाँ मोड लिएको बताइएको छ ।