
विराटनगर । साफ महिला च्याम्पियनसिप २०१९ को उदघाटन खेलमा आज (मंगलबार) भुटानविरुद्ध नेपाल प्रतिस्पर्धा गर्दैछ ।
पहिलो पटक उपाधि जित्ने योजना बनाएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ३ संस्करणमा फाइनल खेलेकोले यसपालि उपाधिको दाबेदार मानिएको छ ।
गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा ४ टिममध्ये सबभन्दा तल्लो वरीयताको भएर पनि नेपाल फाइनलमा पुगेको थियो ।
फिफा वरीयतामा १०८ औं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको ९ वर्षे इतिहासमा हालसम्म कुनै पनि खेल जितेको छैन ।
नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार व्यहोरेको छैन । त्यसकारण पाचौं साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा ३ अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि २ पटक भिडेका थिए ।
साफ २०१४ र २०१६ को भेटमा नेपालले समान ८-० को जित हात पारेको थियो । इस्लामावादमा २०१४ मा भएको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी सावित्रा भण्डारी त्यही खेलमा एक गोल गरेकी थिइन् ।
सिलीगुढीमा २०१६ को भेटमा कीर्तिमान ६ गोल गरिन् । नेपालको लागि २२ गोल गरेकी उनलाई सहिद मैदानमा रोक्न भुटानी टिमलाई गाह्रो हुन सक्छ । ‘पहिलो खेलको लागि मानसिक, शारीरिक रुपमा तयार छौं,’ नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौ ।
सजिलो रुपमा कसैलाई लिएका छैनौं । राम्रो खेल्छौं, त्यसैका लागि कोसिस गर्नेछौं ।’ भुटानी टिम दक्षिण कोरियाली प्रशिक्षक सुङ जाए लीले सम्हालेका छन् ।
उनले भने, ‘हाम्रो टिममा यू १९ टिमका धेरै खेलाडी छन् । भविष्यमा केन्द्रित भएर टिम बनाइएको हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ भुटानी टिमकी कप्तान सोन्मा छोदेनले भनिन्, ‘नेपाल धेरै बलियो टिम हो । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । यो साफ हाम्रो लागि राम्रो अनुभव हुन सक्छ ।’