
ओखलढुंगा । एक महिलामाथि श्रीमानले निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते भएकी उनको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने श्रीमान भईमान राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।
पीडित पक्षबाट घरेलु हिँसामा जाहेरी प्राप्त भइसकेकाले मुद्दा दर्ता गराएर थप अनुसन्धान अघि बढाउने काम अघि बढाएको प्रहरीले जनाएको छ ।
सामाजिक अभियन्ता सरिता गुरुङले ट्वीटरमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र नेपाल प्रहरीलाई मेन्सन गर्दै पीडित महिलाकोबारेमा जानकारी दिएकी थिइन् ।
मोहना अन्सारीले महिलामाथि कुट्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीसँग माग गरेकी थिइन् ।
नेपाल प्रहरीले मोहना र सरिता गुरुङले गरेको ट्वीटमा जवाफ दिँदै पीडकलाई नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागि प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।