राहत तथा उद्धारमा खटिएका स्वयंसेवकका लागि खाना पकाउने सामग्रीदेखि मोबाइल चार्ज गर्न मिल्ने सोलार लाइटसम्म उपलब्ध
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा राहत तथा उद्धार कार्यमा खटिएका स्वयंसेवकहरूलाई लक्षित गर्दै खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको छ।
राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूका लागि खाना पकाएर उपलब्ध गराउन चामल, दाल, खाने तेल र राजमा लगायतका खाद्य सामग्री प्रदान गरिएको हो। यस सहयोगले विपद्को समयमा स्वयंसेवकहरूको खानपान व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा बत्तीको अभावका कारण स्थानीयवासी तथा उद्धारकर्मीले भोगिरहेको कठिनाइलाई मध्यनजर गर्दै ३६ वटा सोलार लाइट समेत उपलब्ध गराइएको छ।
उपलब्ध गराइएका सोलार लाइटबाट एकैपटक तीनवटा बत्ती बाल्न तथा मोबाइल फोन चार्ज गर्न सकिने व्यवस्था रहेको छ। विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा रातिको समयमा राहत तथा उद्धार कार्य सञ्चालन गर्न यी सोलार लाइट उपयोगी हुने विश्वास गरिएको छ।
आज उपलब्ध गराइएको खाद्यान्न, सोलार लाइटलगायत सम्पूर्ण राहत तथा सामग्रीको कुल मूल्य करिब २ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।
विपद्को समयमा प्रभावित समुदाय र राहत तथा उद्धारमा खटिएका स्वयंसेवकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको भन्ते सुमंगले जानकारी दिनुभयो।


अनलाइन डबली




