
काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो । अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको छ ।’
सांसद अवालका अनुसार क्यान्सरको उपचारमा अनिवार्य मानिने ‘कार्बोप्लाटिन’ औषधिको भक्तपुर अस्पतालमा मात्र नभई देशभर नै चरम अभाव देखिएको छ । औषधि नपाएकै कारण बिरामीहरू उपचारबिनै घर फर्किन बाध्य भएको उनले बताइन् ।
‘देशभर औषधि नपाएर क्यान्सरका बिरामीहरू उपचार नपाएर बिनाउपचार फर्किनुपरेको छ, स्थिति एकदमै जटिल र गाह्रो भइसकेको छ,’उनले भनिन् ।
सांसद अवालले तत्काल ‘कार्बोप्लाटिन’ औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालय र सरकारसँग जोडदार माग गरिन् ।


अनलाइन डबली




