आज :

कर्णालीका १० जिल्लाकै लोक, नृत्य र‌ नाटक नौमुलेमा प्रदर्शन हुने: तयारी पूरा

  • नवीन रिजाल

​दैलेख ,कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूलेमा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा आगामी वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो । ​सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन आज दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखत बहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गर्नुभयो ।

प्राज्ञ हमालले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाटकहरू एउटै मञ्चमा प्रदर्शन गरिने जानकारी दिनुभयो । ​”हामीले यस कार्यक्रम लाई तीन विशेष सत्रमा विभाजन गरेका छौँ,” प्राज्ञ हमालले भन्नुभयो, “एउटा सत्रमा कर्णालीको लोक नृत्य र संस्कृतिको वर्तमान अवस्था बारे गहन अन्तरक्रिया एवं गोष्ठी हुने छ भने अर्को सत्रमा १० वटै जिल्लाका विशिष्ट लोक संगीत र नृत्यका स्रष्टा एवं सर्जकहरू लाई विशेष सम्मान गरिनेछ ।”

उहाँले यस पटकको सम्मेलनमा दैलेखको कला र संस्कृति लाई विशेष महत्त्वका साथ प्रदर्शन गरिने समेत स्पष्ट पार्नुभयो । ​पत्रकार सम्मेलनमा नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले पालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण नौमूले बजारमा यति ठूलो प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापन गर्नु चुनौती पूर्ण भए पनि कुनै समस्या हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “पाहुनाहरूको खाना, बसोबास र सुरक्षाको विषयमा छलफल गर्न आजै सर्वदलीय बैठक बोलाइएको छ,” अध्यक्ष सुवेदीले भन्नुभयो, “व्यवस्थापनको पाटोमा हामी कतै पनि चुक्ने छैनौँ ।” ​

अध्यक्ष सुवेदीका अनुसार कार्यक्रमको स्थानीय व्यवस्थापन, खाना र बसोबासको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेछ भने कलाकारहरूको यात्रा खर्च र स्रष्टा सम्मान लगायतका अन्य प्राविधिक खर्च प्रज्ञा–प्रतिष्ठानले व्यहोर्ने गरी सहकार्य भएको छ । ​अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले कर्णाली कला र संस्कृतिको खानी भए पनि यसको उचित पहिचान हुन नसकेको र पुस्तान्तरणको अभावमा मौलिक प्रतिभाहरू हराउँदै जान लागेकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानले नौमूले जस्तो स्थानीय तहमा पुगेर अनुसन्धान र प्रदर्शनको कार्य थाल्नुले सांस्कृतिक पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास पत्रकारहरूको थियो । ​सम्मेलनमा दैलेखका ११ वटै स्थानीय तहका सांस्कृतिक समूहहरू केन्द्रित हुनेछन् भने अन्य ९ जिल्ला बाट कलाकारहरू आफ्ना मौलिक प्रस्तुति सहित सहभागी हुनेछन् । नेपाल संगीत, नाट्य र नृत्यको क्षेत्रमा अनुसन्धान गर्ने र स्रष्टाहरू लाई प्रोत्साहित गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal