दैलेख । दैलेखमा सञ्चालित नियमित योग शिविरहरू नागरिकको स्वास्थ्य सुधारमा ‘चमत्कारिक’ माध्यम बन्न थालेका छन् । योग शिविर भित्रै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको समन्वयमा सञ्चालित सचेतना कार्यक्रम र नियमित योग अभ्यासका कारण वषौँ देखि बल्झिएका जटिल स्वास्थ्य समस्याहरू समाधान हुन थालेका छन् ।
विशेष गरी नियमित कपालभाँती प्राणायाम र योगाभ्यासका कारण मुटु सम्बन्धी गम्भीर समस्या, उच्च रक्तचाप, मधुमेह (सुगर) लगायतका धेरै नाम गरेका रोगहरू निको भएका प्रशस्त उदाहरणहरू देखिएका छन् । योग शिविरमा ६० देखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र महिलाहरूको निरन्तर र उल्लेखनीय सहभागिता रहने गरेको छ ।

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शंकर थापाको पहलमा जिल्लामा योगको ठूलो लहर आएको छ । थापाकै सक्रियतामा निर्मित योग भवनमा अहिले योग प्रोटोकल अनुसार नियमित प्रशिक्षणका साथै प्राकृतिक उपचार सम्बन्धी ज्ञान दिइँदै आएको छ । सोही शिविरको सन्दर्भ पारेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादव प्रसाद उपाध्यायले योग र आयुर्वेदलाई एउटै सिक्काका दुई पाटाको रूपमा व्याख्या गर्दै जडीबुटीको महत्व बारे जानकारी दिनुभया े।
“योगले शरीर लाई भित्रबाट बलियो र सन्तुलित बनाउँछ भने आयुर्वेदले प्राकृतिक खानपान र जडीबुटी मार्फत शरीरको रक्षा गर्छ,“ डा. उपाध्यायले भन्नुभयो । उहाँले स्थानीय स्तरमा पाइने अमला, कुरिलो, शिलाजित, गुर्जो, असुरो, टिमुर, तुलसी लगाएतका जडीबुटीलाई प्रयोग गर्ने तरिकाबारे जानकारी दिनुभएको थियो ।
योग शिविरमा सहभागी राधाकुमारी शाहीले योगले मन चङ्गा बनाउनुका साथै विचार, भोजन शैली र आचरणमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। शिविरका क्रममा सहभागीहरूको सुगर र प्रेसर (रक्तचाप) समेत जाँच गरिएको थियो ।
वर्षौँ देखि औषधि सेवन गरिरहेका बिरामीहरूले समेत योग र आयुर्वेदको उचित समन्वय पछि स्वास्थ्य लाभ लिन थालेका छन् । प्राकृतिक जडीबुटीको परिचय, यसको सेवन गर्ने सही मात्रा र समयका बारेमा आयुर्वेद केन्द्रले जानकारी दिँदै आएको छ । योग र आयुर्वेदको यो सहकार्यले दैलेख बासीलाई निरोगी बनाउने अभियानमा ठूलो सफलता मिलेको प्रशिक्षक थापाले बताउनुभयो।







