
सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा झण्डै ५३ प्रतिशत मत खसेको छ । निर्वाचनको लागि तोकिएको समय साँझ पाँच बजेसम्म लाइनमा बसेका मतदाताले गरेको मतदानसहित ६ बजे सम्पन्न मतदानमा ५२ दशमलव ९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सबैभन्दा धेरै मत हुम्लामा ६४ दशमलव १५ प्रतिशत र सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा ४३ दशमलव सात प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा ५४ दशमलव ५७ प्रतिशत र क्षेत्र नम्बर दुईमा ५६ दशमलव ३ प्रतिशत मत खसेको छ ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ५० दशमलव ५१ प्रतिशत, जाजरकोटमा ५६ दशमलव ६५ प्रतिशत, सल्यानका ४४ दशमलव ४० प्रतिशत, रुकुम पश्चिममा ५८ दशमलव ४४ र कालिकोटमा ४८ दशमलव ६२ प्रतिशत मत खसेको छ । जम्ुलामा ५६ दशमलव ६५, मुगुमा ५८ दशमलव ९० र डोल्पामा ६३ दशमलव १४ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन् ।
यहाँको १२ निर्वाचन क्षेत्रका नौ सय ४१ मतदानस्थलमा मतदान भएको थियो । १० लाख ३७ हजार २५० मतदाता रहेको कर्णालीमा जम्मा पाँच लाख ५४ हजार ३४१ मतदाताले मतदान गरेका छन् । सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइने छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भए पश्चात आजै मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।


अनलाइन डबली

