आज :

अरनिको यातायातद्वारा मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती

  • अनलाइन डबली

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मा बस दुर्घटना भएपछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा रोकेपछि रामेछापका सर्वसाधारण समस्यामा परेका छन् ।

माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो भने दुर्घटनामा ८ जना घाइते भएका थिए ।

दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासनबिच माघ २८ गते मध्यरातसम्म चलेको वार्तापछि सहमति भएपनि मृतकका आफन्तले विभिन्न स्थानमा बस अवरोध गरेका भन्दै प्रालिले फागुन १ गतेदेखि काठमाडौँ–खुर्कोट–मन्थली सडक खण्डमा बस सेवा बन्द गरेको थियो ।

बन्द गरिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली तथा काठमाडौं आउजाउ गर्न समस्या भएको छ ।

यातायात बन्द हुँदा मन्थली हुँदै रामेछापको सालु, साँघु टार तथा ओलखढुंगाका लिखु क्षेत्रका विभिन्न स्थानमा जाने, रामेछापकै धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गाका खिजिदेम्बासम्म आउजाउ गर्ने सर्वसाधारण प्रभावित भएका छन् ।

मन्थली हुँदै चल्ने यातायात सेवा रोकेको भए पनि कम्पनीले चौँरीखोला तथा सित्खा हुँदै रामेछापको दक्षिणी क्षेत्रमा चल्ने यातायात भने निरन्तर सञ्चालन गर्दै आएको छ ।

मन्थली हुँदै उमाकुण्ड तथा गोकुलगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा जाने सेवा रोकेको कम्पनीले दोलखाको जिरी हुँदै यो क्षेत्रमा बसहरू पठाउन लागेको छ । तर बिचको भागमा भने यातायात चलाएको छैन ।

पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने कम्पनीले सो दायित्वबाट भाग्न अवरोध गरेको भन्दै सेवा नै रोकेको स्थानीयको भनाइ छ ।
प्रतिनिधि सभा निर्वाचनको मुखमा सेवा अवरुद्ध हुँदा पनि स्थानीय प्रशासनले समेत सेवा सञ्चालनको लागि कडाइ नगरेको स्थानीयको गुनासो छ ।

यसैबिच बस सेवा तत्काल सञ्चालन हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघ लगायतका संघसंस्थाले सेवा सञ्चालनको लागि कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । तर कम्पनीले सेवा सुरु गरेको छैन ।

पर्याप्त सवारी साधन नहुँदा साना सवारी साधनले उपभोक्तासँग बढी रकम असुल्ने गरेको गुनासो बढेको छ । यातायात साधन पर्याप्त नहुँदा स्थानीय महँगो भाडा तिर्ने बाध्य भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal