
कीर्तिपुर, फागुन १० गते । नेकपा (एमाले) कीर्तिपुर नगरका प्रभावशाली नेताहरुले पार्टीमा विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । पेरिस डाँडामा रहेको केन्द्रीय कार्यालयमा कीर्तिपुरका पूर्वमयेर रमेश महर्जन र वडा नम्बर ६ का वडाध्यक्ष न्हुछेँ महर्जनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले फुलमालासहित पार्टीमा प्रवेश गराउनुभएको हो ।
चारदशकसम्म वामपन्थी विचारधाराका नेताहरु दुबैजनालाई केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिइएको छ । पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले देशभर क्रान्तिकारी र वामपन्थीहरुको विद्रोहले सच्चा कम्युनिष्ट पार्टी नेकपा मात्र भएको पुष्टि भएको बताउनुहुँदै फागुन २१ गतेसम्म थुप्रै नेताहरुको प्रवेश हुनसक्ने बताउनुभयो ।
पार्टी प्रवेश गर्नुभएको पूर्वमेयर रमेश महर्जनले दुुई तिहाइको सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो । उहाँले कीर्तिपुर नगरपालिकाबाट थुप्रै नेता कार्यकर्ताहरुले विद्रोह गर्नसक्ने बताउनुहुँदै अहिलेलाई सांकेतिक रुपमा दुईजनाको प्रवेश भएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीबाट काठमाडौँ –१० मा तारा चिन्हबाट उम्मेदवार बन्नुभएकी रुपा महर्जन श्रेष्ठलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासमेत गर्नुभयो । कार्यक्रममा नेकपाका नेताहरु डा.वेदुराम भुसाल, प्रवेश हमाल, अग्नी सापकोटा, राजेन्द्र श्रेष्ठ, हितमान शाक्य, दिलिप महर्जन, धनबहादुर महर्जन, विष्णु महर्जन, प्राडा. शिवशरण महर्जनलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


अनलाइन डबली



