
रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ ।
फागुन ८ गते (हिजो) बसेको सर्वपक्षीय बैठकले गाउँको शान्ति सुरक्षा र आपसी भाइचारालाई मजबुत बनाउने निर्णय गरेको हो ।
बैठकले गाउँको सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वहरूप्रति सामूहिक खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्ने प्रतिबद्धता जनाएको छ । नेपाल प्रहरीको आधिकारिक पोर्टल मार्फत प्राप्त हुने सुरक्षा मापदण्ड र स्थानीय प्रशासनको समन्वयमा शान्ति कायम गरिने बताइएको छ ।
गाउँमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई मध्यनजर गर्दै धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आपसी छलफल र सौहार्दपूर्ण वातावरणमा मात्र सञ्चालन गर्ने सहमति भएको छ।
पुर्खादेखि चलिआएको सद्भावलाई कायम राख्न मिति २०८१ चैत ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने, हाल विवाहको लगन र मुस्लिम समुदायको पवित्र महिना रमजान नजिकिएको सन्दर्भमा एक समुदायले अर्को समुदायको संस्कृतिको सम्मान गर्ने विषयमा पनि सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
उनका अनुसार कुनै पनि अवरोध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सहयोग गर्ने, आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल र शान्तिपूर्ण वातावरण तयार पार्न आजैका मितिदेखि सबै विवाद अन्त्य गर्ने निर्णय गरिएको छ ।
यदि कसैले सामाजिक सञ्जाल वा प्रत्यक्ष रूपमा सद्भाव भड्काउने कार्य गरेमा तुरुन्त प्रहरीलाई खबर गर्ने र प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट को समन्वयमा कडा कानुनी कारबाही अगाडि बढाउने सहमति भएको छ ।
यो सहमतिसँगै सवगढाबासीले अब गाउँमा शान्ति र एकताको नयाँ सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।


अनलाइन डबली


