आज :

नेवा :समुदायले आज क्वाँटी पुन्हि (गुन्हुपुन्ही ) मनाउदै

  • बुद्धशरण शाही

काठमाडौँ ।  नेवा :समुदायले आज क्वाँटी पुन्हि (गुन्हुपुन्ही ) मनाउदै छ ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने क्वाँटी पुन्हि (नौ थरी गेडागुडीको क्वाँटी र जनै पूर्णिमा) मास, भटमास, ठूलो-सानो केराउ, चना, बोडी, मुङ, सिमी र बकुल्ला गरी ९ थरी गेडागुडी भिजाएर टुसा आएपछि विशेष तरिकासँग बनाएर क्वाँटी (तातो झोल) जनैपूर्णिमाका दिन खाने प्रचलन नेवार समाजमा छ । मरमसला राखी ९ गुणयुक्त क्वाँटी खाने हुँदा यस पर्वलाई नेपाल भाषामा गुन्हुपून्ही भनिएको हो ।

क्वाँटी खानाले शरीरमा सर्दी-गर्मीको सन्तुलन, स्वच्छ मन, दिमाग स्फूर्ति, शक्तिवर्द्धक र पेटको विकार नाश गर्छ भन्ने मान्यता रहेको पाइन्छ । यस दिन तागाधारीले पुरानो जनै फ्याँकी नयाँ जनै फेर्ने गर्छन् । जनै नलगाउनेले पनि ब्राह्मणको हातबाट दायाँ हातमा रक्षाबन्धन (डोरो) बाँध्ने गर्दछन् ।

तिहारको लक्ष्मीपूजाको दिन उक्त डोरो गाईको पुच्छरमा बाँधी पूजा गर्ने प्रचलन छ । गुन्हुपून्ही अर्थात् जनैपूर्णिमा नेवार, क्षत्री, ब्राह्मण तीन सम्प्रदायबीचको साझा पर्व हो । यस दिन ब्राह्मण जजमानका घर-घर पुगी जनै लगाइदिन र क्वाँटी, पीठो, आलु, चामल, बेसार, दाल, घिउ, नुनसहितको दक्षिणा दान लिई फर्कने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तारमा जनैपूर्णिमाको दिन भगवान् गौतम बुद्धले अनेक आपत्तिलाई समेत जिती सम्यक हुनुभएको थियो । सो दिन यमराजले यमलोकमा रहेका धर्मात्मालाई षडाक्षरी लोकेश्वरका रूपमा धर्मदेशना प्रदान गर्नुभएको थियो । यसै दिनको स्मरण गुन्हुपून्हीको आठ दिनसम्म प्रत्येक बिहान उपत्यकाका महाविहारमा प्राचीन थाङ्का, पौभा र देवताका मूर्ति सार्वजनिक प्रदर्शन गर्नुका साथै गुँलाबाजा बजाउँदै स्वयम्भू परिक्रमा गर्ने परम्परा छ ।

आख्यानअनुसार दानव र देवता मिली समुद्र मन्थन हुँदा निस्किएको कालकुट विष सेवन गरेका महादेव छटपटाउँदै रसुवा जिल्लाको शिलुकुण्ड (गोसाइँकुण्ड) पुगेछन् । विषपानबाट छटपटाएका महादेवलाई समेत शान्त पार्न सक्ने तीर्थस्थल शिलुतीर्थमा जनैपूर्णिमाका दिन काठमाडौंलगायत देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थलु श्राद्ध, दान, पितृ तर्पण गर्न पुग्ने गर्छन् ।

यस दिन शिलु जान नपाएका वा नस्क्नेले पाटनको क्वन्ती (बालकुमारी) पुग्ने गर्दछन् । जनैपूर्णिमाकै दिन काठमाडौं उपत्यकाका ज्यापू समुदायमा ब्याँचा र क्वया जङ्कु नाउँका काग र भ्यागुतोलाई खानेकुरा खुवाउने परम्परा छ । शुभ समाचार दिने काग र खेतको उर्वर शक्तिलाई मलजल गर्न पानी बोलाउने भ्यागुतोको गुणलाई स्मरण गर्दै पूजा गर्ने गरिएको हो । जनैपूर्णिमाका दिन बनेपाको शिलकुण्ड र साँखुस्थित मणिचुड महाराज (भगवान् बुद्धको पूवअवतार) को बासस्थान मणिचुड दहमा समेत ठूलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal