
काठमाडौँ । ‘कुलिङ अफ पिरियड’ मा भएको गडबढी छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको उक्त गडबढीमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको समितिले निष्कर्ष निकालेको छ ।
त्यसैगरी संसदीय छानबिन विशेष समितिले उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको समेत निष्कर्ष निकाल्दै प्रतिवेदनमा समावेश गरेको छ ।
समितिले राज्य व्यवस्था समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको भन्दै छानबिन प्रतिवेदनमा नाम किटान गरेको छ ।
‘राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने बेहोरा उल्लेख गरेर छानबिन प्रतिवेदन पास भएको छ । प्रतिवेदनमा हस्ताक्षर भएकाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज कुमार दुराको नाम किटान गरिएको छ ।
समितिबाट सर्वसम्मत रुपमा पास भएको प्रतिवेदनमा मुख्यसचिव र कर्मचारीहरूको हकमा पदीय आचरण अनुरूप काम नगरेको भनिए पनि प्रतिवेदनमा नाम किटान नगरिएको बताइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक जेठ २ गते पास भएको थियो । समितिबाट पास भएको एक महिनापछि असार १ गते प्रतिनिधि सभामा छलफल गरिएको थियो । सभाले असार १५ मा निजामती विधेयक पारित गरेको थियो ।
प्रतिनिधिसभाबाट पारित भएपछि मात्रै कुलिङ अफ पिरियडमा गडबढी भएको सार्वजनिक भएको थियो ।
गडबढीपछि सभापति खतिवडाले सार्वजनिक रूपमा दाेषी भए कारवाही भाेग्न तयार रहेकाे बताएका थिए । प्रतिवेदनमै नाम किटान भएपछि अब के गर्छन् भन्ने प्रश्न उठेकाे छ ।
अहिले राष्ट्रिसभामा छलफलमा रहेको उक्त विधेयकमाथि नेकपा एमाले सांसदहरुले गडबढीसहित पास गर्ने गरी संशोधन प्रस्ताव हालेको विपक्षी माओवादी र काँग्रेसका सांसदहरुले बताएका छन् ।