
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक तथा संरक्षक रेशम चौधरी र श्रीमति तथा निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठबीच आमनेसामने अवस्थामा पुगेका छन् ।
हिजो रेशमले रञ्जितालाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए । आज रञ्जिताले पनि जवाफी प्रतिक्रियास्वरुप संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टिकरण सोधेकी छन् ।
रञ्जिताले पार्टीको केन्द्रीय कार्यालयको लेटरहेडमै जारी पत्रमार्फत आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको बताएकी छन् ।
आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको बताउँदै रञ्जिताले लिखित स्पष्टिकरण सोधेकी हुन् ।
चौधरीको यो कार्य पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै रञ्जिताले विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् ।
संसदीय दलका नेता चौधरी स्पष्टीकरण मागिएको पत्र श्रेष्ठले पार्टीको निर्वाचन तथा अनुशासन विभाग र निर्वाचन आयोग समेत पठाएको उल्लेख छ ।
उक्त पत्रमा रञ्जिताले अहिले पनि आफू पार्टीको वैधानिक अध्यक्ष र प्रतिनिधि भएको भन्दै बर्खास्त गरिएको भनेर भ्रम फैलाएको उल्लेख गरेकी छन् ।